२७ भदौ, काठमाडौं ।सरकार र आन्दोलनरत थारुवान थरुहट संयुक्त संघर्ष समितिबीच भएको वार्ता असफल भएको छ । प्रधानमन्त्री निवास वालुवाटारमा भएको वार्तामा संघर्ष समितिले राखेका ७ बुँदे माग सम्बोधन गर्न तयार नभए पछि वार्ता निष्कर्षमा पुग्न नसकेको हो ।

तराईका विभिन्न जिल्लामा सुरक्षाकर्मीबाट भएको धरपकड, सेना परिचालन फिर्ता, मृतकलाई सहिद घोषणा, कफ्र्यु र दंगाग्रष्त क्षेत्र घोषणा फिर्ता लगायत ७ बुँदे माग सम्बोधन गर्न तयार नभएको भन्दै वार्ता असफल भएको संघर्ष समितिले जनाएको छ ।

tharu barta

अव ती माग सम्बोधन भएपछि मात्र वार्ता हुने भन्दै संघर्ष समितिको तर्फबाट वार्ता टोलीका सदस्य अमनलाल मोदीले आन्दोलन जारी राख्ने बताए । ‘हामी वार्ताबाट भागेका छैनौं, मोदीले भने, ‘वार्ताका लागि राखिएका पूर्व सर्तमा सरकार सहमत हुनुपर्छ अनि मात्र वार्ता गर्नुको औचित्य हुन्छ ।’

पार्टीको एसएमएस आएपछि गगन थापाले भने- प्रक्रिया शुरु गर्ने निर्णय गलत

जवाफमा प्रधानमन्त्री सुशील कोइरालाले वार्तालाई निष्कर्षमा पुरयाउने गरी अन्य दलसँग पनि छलफल गर्ने बताएका थिए । प्रधानमन्त्रीको भनाई उदृत गर्दै मोदिले भने, ‘प्रधानमन्त्रीले मुलुक निक्कै अप्ठ्यारो परिस्थितीमा रहेकोले संवाद मार्फत नै समस्या समाधानका लागि सहयोग गर्न आग्रह गर्नुभयो, हामीले पहिले वार्ताको वातावरण बनाउनुस भनेका छौं ।

संविधानसभाको प्रक्रिया नरोक्ने कांग्रेसको निर्णय

अर्को वार्ता कहिले हुने भन्ने टुंगो छैन । मधेसवादी दलहरुसँगको वार्ताको सम्भावना पनि देखिएको छैन । फोरम लोकतान्त्रिकका महामन्त्री रामजनम चौधरीले अहिलेसम्म पनि वार्ताको सहज वातावरण नबनेको बताए ।
-नेपाली हेडलाइन

समाचार टिप्पणी
२६ भदौ काठमाडौं । मधेसी मोर्चाको आह्वानमा भइरहेको एक महिना लामो आन्दोलन शान्तिपूर्ण भनिए पनि हिंसात्मक बन्दै गइरहेको छ । शनिबार बिहानसम्म मधेसमा आन्दोलन रोकिएको छैन ।

फाइल तस्वीर

शान्तिपूर्ण भनिएको आन्दोलनमा घाइते प्रहरीलाई छापामार शैलीमा हत्या गरिएको छ । हत्याको जिम्मा आन्दोलनकारीले लिएका छैनन् ।
आन्दोलन यसरी हिंसात्मक हुनुमा सत्तापक्ष र आन्दोलनकारीका आ-आफ्नै तर्क छन् । सत्तापक्ष भन्छ- मोर्चाको शान्तिपूर्ण आन्दोलनमा हिंसात्मक तत्वहरुको घुसपैठ भएको छ । र, आन्दोलनकारी भन्छन्- शान्तिपूर्णरुपमा भइरहेको आन्दोलनमाथि प्रहरीले अनावश्यक बल प्रयोग गर्दा हिंसा भड्किएको हो ।
वार्ताको वातावरण बन्नासाथ किन हुन्छ यस्तो

रहस्यमय के छ भने जब सरसकार र आन्दोलनकारीवीच सहमति र वार्ता हुने संकेत देखिन्छ, ठीक त्यहीबेला मधेसमा हिंसा भड्किन थालेको छ । गत साता प्रधानमन्त्रीले चिठी पठाउनासाथ वीरगञ्ज र कलैयामा त्यस्तै घटना भयो ।
शुक्रबार तीनदलले संविधानसभाको प्रक्रिया रोकेको घोषणा गरेकै दिन जलेश्वर र जनकपुरमा हिंसा भड्कियो ।
यसरी सहमतिको सम्भावना देखिनासाथ हिंसा भड्कनु संयोगमात्रै हो या यसमा कुनै भित्री योजनाले काम गरेको छ ? शंका गर्ने स्थिति देखिएको छ ।

मुलुकलाई शान्त हुन नदिने र आन्दोलनकारीलाई उत्तेजित बनाउने यस्ता षड्यन्त्रहरु बेलाबखत हुने गरेका पाइन्छन् । विगतमा माओवादीलाई उत्तेजित बनाउन दोरम्बा घटना गराइएको थियो र उसलाई वार्ता प्रक्रियाबाट जंगल पठाइएको थियो । त्यस्तै गौर नरसंहार पनि अर्को त्यस्तै घटना थियो ।
मधेस र थरुहट आन्दोलनको अन्तर्यमा फेरि राजतन्त्र फर्काउने कसरत त भइरहेको छैन ? प्रचण्डको अभिव्यक्ति सुन्दा नेताहरुको आशंका राजावादीमाथि पनि देखिन्छ
अहिले पनि संविधानसभामा प्रनितिधित्व गरिरहेका मधेसवादी दलहरुलाई मिल्न नदिन र आगो सल्काइराख्न त्यसैगरी कुनै अदृश्य शक्तिले त काम गरिरहेको छैन ? यो गम्भीर अनुसन्धानको विषय हो । यसलाई ‘क्रस-चेक’ गर्ने सबैभन्दा राम्रो उपाय भनेको अब मधेसवादी दलहरुले कमसेकम आइतबारसम्म आन्दोलन फिर्ता लिएको घोषणा गर्नुपर्छ र वार्ताको टेबुलमा आएर आफ्ना कुराहरु राख्नुपर्छ ।
वार्ताको औचित्य छैन भन्दै सडकमै बसिरहने हो भने मोर्चाका नेताहरुको काँधमा राखेर अरु कसैले बन्दूक चलाउने खतरा बढी छ ।

मधेस आन्दोलनका समर्थक जयप्रकाशप्रसाद गुप्ता मधेस आन्दोलन हिंसात्मक हुँदा सरकारलाई फाइदा पुग्ने र उसलाई दमन गर्ने बाहना प्राप्त हुने बताउँछन् । मधेसको आन्दोलन शान्तिपूर्ण नभएकोमा गुप्ताले चिन्ता प्रकट गरेका छन् ।
मधेसका अर्का नेता एवं एमाओवादीका केन्द्रीय सदस्य रामरिझन यादव मधेसको आन्दोलनमा व्यापक जनसहभागिता हुन नसकेको र कार्यकर्ता तहका सीमित मानिसहरु मात्रै लागिरहेको विश्लेषण गर्छन् ।
आन्दोलनमा मधेसवादी मोर्चाका मात्रै नभएर अन्य विभिन्न समूह र एमाओवादीको मधेसी मोर्चासमेत संलग्न रहेको यादव बताउँछन् ।

तर, शान्तिपूर्ण आन्दोलनलाई सरकार आफैंले उत्तेजित पारेर हिंसात्मक बनाइरहेको गुप्ताको आरोप छ ।
घरेलु हतियारको प्रयोग

शान्तिपूर्ण भनिएको आन्दोलनमा कैलालीको टीकापुरदेखि नै घरेलु हतियार प्रयोग हुने, प्रहरीमाथि ढुंगा र भाला प्रहार हुने र यसलाई हिंसात्मक एवं उत्तेजक बनाउने कार्य भइरहेको छ ।
आयोजक मधेसी मोर्चाका नेताहरुले आफूहरुले शान्तिपूर्ण आन्दोलन गरेको बताउँछन् । तर, प्रदर्शनमा घरेलु हतियारसमेत प्रयोग हुँदै आएका छन् ।

सरकारी एवं निजी सम्पत्तिमाथि आगजनी र तोडफोडलाई मोर्चाका नेताहरुले रोक्न सकेका छैनन्, जसले गर्दा सरकारी सम्पत्ति जोगाउने कार्यमा सरकारी सुरक्षा निकाय बल प्रयोग गर्न बाध्य छ ।
कैलालीदेखि नै सुरु भएको घरेलु हतियारको प्रयोग महोत्तरीसम्म आइपुग्दा प्रहरीलाई नियन्त्रणमा लिएर हत्या गर्ने तहसम्म ओर्लिएको छ ।

ज्वाला सिंह र सिके राउतको घुसपैठ ?

मधेसी मोर्चाले आन्दोलन सुरु गरेपछि विगतमा सेलाएका सशस्त्र समूहका नेता ज्वाला सिंहले पनि आफ्नो गतिविधि बढाएका छन् ।
ज्वाला सिंहले अघिल्लो साता जारी गरेको वक्तव्यमा अहिलेको आन्दोलनलाई हिंसात्मक र साम्प्रदायिक बनाउनका लागि घरेलु हतियार प्रयोग गर्न उर्दी गरिएको थियो ।
ज्वाला सिंहले उर्दी गरेजस्तै केही आन्दोलनकारीले घरेलु हतियारको प्रयोग गर्नु रहस्यमय छ । यसबाट प्रश्न उठ्छ, शान्तिपूर्ण भनिएको मोर्चाको आन्दोलनमा कतै ज्वाला सिंहका कार्यकर्ताले घुसपैठ गरिरहेका त छैनन् ?
मधेस आन्दोलनका सन्दर्भमा कुरा गर्दा विखण्डनको वकालत गर्दै आएका डा. सिके राउतको भनाइ पनि निकै शंकास्पद देखिएको छ ।

डा. राउतले आन्दोलनको वीचबाट आफ्ना कार्यकर्तालाई गिफ्तार गरिएको भन्दै जुलुसमा आफ्नो समूहको सहभागितालाई पुष्टि गरेका छन् ।
मोर्चाका नेताहरुले अहिलेसम्म कार्यकर्तालाई घरेलु हतियार प्रयोग नगर्न, सरकारी सम्पत्ति नजलाउन र तोडफोडमा नउत्रन सार्वजनिक आह्वान नगर्दा हिंसात्मक गतिविधि गर्नेहरुलाई फाइदा पुगिरहेको छ ।

अन्य घुसपैठको सम्भावना

मधेसको आन्दोलनलाई हिंसात्मक बनाउने र मोर्चाका नेतालाई वार्तामा आउन नदिने तत्वहरु अरु पनि सक्रिय रहेका हुन सक्छन् ।

जस्तो कि हिन्दु राष्ट्रको माग गरिरहेका कांग्रेस नेता खुमबहादुर खड्काले पनि तराईमा चलखेल गरिरहेको सुरक्षा निकायको विश्लेषण छ । अघिल्लो महिना भारतीयहरुको सहयोगमा सुनसरीको इटहरीमा भड्किएको अशान्तिमा खड्काले त्यहीँ पुगेर सक्रिय सहभागिता जनाएका थिए ।

यसअघि एउटा पत्रकार सम्मेलनमा खड्काले मधेसको पक्षमा खुलेरै बोलेका थिए ।
सत्तापक्षले संविधानसभाको प्रक्रिया रोकेर वार्तामा आउन आग्रह गर्दा पनि मधेसवादी मोर्चाले आन्दोलन स्थगन गरेनन् र यो अझै हिंसात्मक भयो भने आन्दोलनमा अदृश्य शक्तिको सहभागिता रहेको स्पष्ट हुनेछ
त्यसैगरी मधेसमा भइरहेको आन्दोलनलाई चर्काएर संस्थापन पक्षलाई अप्ठ्यारोमा पार्न र संविधानसभालाई सफल हुन नदिन मोहन वैद्य र विप्लव समुहमा रहेका माओवादीहरुले पनि प्रयास गरिरहेको उनीहरुका बेलाबखतका अभिव्यक्तिले संकेत गरेकै छन् ।

कैलालीको घटनामा माओवादीको संलग्नता रहेका रिपोर्टहरु पनि आइरहेका छन् ।
त्यसैगरी मधेस आन्दोलनमा कतिपय विदेशी तत्वले समेत चलखेल गरेको दाबी सरकारी निकायबाट गरिँदै आएको छ । आन्दोलन चर्कँदै जाँदा केही विदेशी कूटनीतिज्ञको सक्रियता बढेको छ ।

आशंका राजावादीमाथि पनि

संविधान निर्माणको प्रक्रिया अन्तिम चरणमा पुग्न लाग्दा पूर्वराजा ज्ञानेन्द्र रहस्यमय तरिकाले बैंकक भ्रमणमा निस्किए । त्यहीबाट उनी दिल्ली आएर फेरि बैंकक गएको चर्चा चल्यो । नारायणहिटी छाडेका बेला स्वदेशमै बसेका ज्ञानेन्द्र संविधान बन्न लागेका बेलामा चाँहि विदेश प्रस्थान गरे ।
यता चाँडो संविधान नआए राजतन्त्र फर्कन्छ भन्ने अभिव्यक्ति एमाओवादी अध्यक्ष प्रचण्डका मुखबाटसमेत सुन्न थालिएको छ । एमालेका नेताहरु पनि भनिरहेका छन् कि केही दिनमात्रै ढीलो गर्दा देश दुर्घटनामा पर्ने खतरा छ ।

यसको अर्थ मधेस र थरुहट आन्दोलनको अन्तर्यमा फेरि राजतन्त्र फर्काउने कसरत त भइरहेको छैन ? प्रचण्डको अभिव्यिक्त सुन्दा नेताहरुको आशंका राजावादीहरुमाथि पनि देखिन्छ ।
पुनरुत्थानको यो आशंकालाई पनि मधेसवादी दलहरुले विशेष ख्याल गर्न जरुरी छ, ताकि मधेस आन्दोलनको बुई चढेर गणतन्त्रविरोधी शक्ति सिंहासनमा नआओस् ।

आन्दोलन कसको नियन्त्रणमा ?

मधेस आन्दोलन मधेसवादी मोर्चाको नियन्त्रणमा छ या अन्य शक्तिले यसलाई हाँकिरहेका छन् भन्ने कुरा सम्भवतः अबको दुई दिनमा देखिन सक्छ ।

सत्तापक्षले संविधानसभाको प्रक्रिया रोकेर वार्तामा आउन आग्रह गर्दा पनि मधेसवादी मोर्चाले आन्दोलन स्थगन गरेनन् र यो अझै हिंसात्मक भयो भने आन्दोलनमा अदृश्य शक्तिको सहभागिता रहेको स्पष्ट हुनेछ ।
- अनलाइन खबर
 
जीवन मंत्र
बिचित्र संसार
स्वास्थ्य
Latest Updates
English Headlines