'पेट्रोलियम पदार्थको अभाव, जोर/बिजोर प्रणाली लागू'
धनगढी, १२ असोज । भारतको अघोषित नाकाबन्दी सँगै सुदूरपश्चिमका प्रमुख त्रिनगर र गड्चौकी भन्सार नाका सुनसान छन् ।
भारतीय बजारबाट दिनहुँ दर्जनौंको संख्यामा आउने मालबाहक गाडीलाई भारतको गौरीफन्टा र बनमासामा भारतीय सुरक्षाकर्मी तथा कष्टमले विभिन्न बहानामा बनाई रोक्ने गरेपछि भन्सारनाका सुनसान भएका हुन् ।
सुदूरपश्चिमको मुख्य नाका धनगढीस्थित त्रिनगर भन्सार र महेन्द्रनगरस्थित गड्चौकी नाकाको भारततिर तीन दिनदेखि ठूलो संख्यामा नेपाल आउने मालबाहक गाडीहरु अलपत्र अवस्थामा परेको कैलाली भन्सार कार्यालयले जनाएको छ ।

यसअघि निर्बाधरुपमा मालबाहक गाडीहरु आउने गरेकोमा शुक्रबार साँझदेखि नाकाबन्दी लगाएको भन्सार अधिकारीहरूको भनाई छ । नेपालतिर आउने मालबाहक गाडीहरुलाई भारतीय सीमा सुरक्षा बल (एसएसबी) र कष्टम कागजात नमिलेको तथा चेकजाँचमा ढिलाई गरी रोक्ने गरेको सवारी चालकहरुले बताए ।


यसअघि एउटा मालबाहक गाडीलाई भन्सार छुटाउन बढीमा एक घण्टासम्म लाग्नेगरेकोमा हाल चौबिस घण्टा बित्दा पनि भन्सार पास नदिने गरेको चालकहरुको भनाई छ ।
भारतबाट सामग्री लोड गरेर आएका दर्जनौं गाडीहरू भारतको दुधुवा नेशनल पार्कको बनगाउँ क्षेत्रमा रोकिएका छन् । भारतको अघोषित नाकाबन्दी सँगै बजारमा दैनिक उपभोग्य सामानको अभाव देखिन थालेको छ । उपभोक्ताहरुले आफूलाई आवश्यक पर्ने सामाग्री खरिद गरी भण्डारण गर्न थालेका छन् ।
भारतीय पक्षले नेपाल आयात हुने गाडीलाई पूर्णरुपमा अवरोध नपुर्याएपनि चेकजाच र कागजात नपुगेको भन्दै घण्टौंसम्म भन्सारमा रोक्ने गरेको कैलालीका भन्सार कार्यालयका भन्सार अधिकृत मानबहादुर विकले बताए ।
भन्सार अधिकृत बिकका अनुसार भारतबाट नेपाल भित्रिन लागेका दजनौं मालावाहक गाडी सीमा नाकामा रोकेको छ । ‘२४ घण्टादेखि कुनै गाडी आएका छैनन्,’ बिकले भने–‘भारतीय कष्टम र एसएसबीले प्रक्रिया पुर्याउनु पर्ने नाममा सीमा क्षेत्रमा रोकेको छ ।’
त्रिनगर भन्सार नाकाबाट पेट्रोलियम पदार्थका साथै हार्डवयर, खाद्यान्न, सिमेण्ट, कृषि सामाग्री, तरकारी हुने गर्छ भने गड्चौकी नाकाबाट हार्डवयर, खाद्यान्न, सिमेण्ट कृषि सामाग्री, तरकारी हुनेगर्छ ।
‘नाकाबन्दीले त्रिनगर भन्सार नाकामा मात्र दैनिक १५ लाख बढी राजस्वमा घाटा भइरहेको छ,’ भन्सार अधिकृत विकले भने, ‘यो सिजनमा बढी राजस्व संकलन हुने भएपनि नाकाबन्दी लक्ष्य भेटाउन सक्ने अवस्था छैन् ।’
भारतबाट आयात हुने नेपालका सबै नाकामा नाकाबन्दी छ । यसको असर कैलालीमा पनि परेको छ । उपभोक्ताहरुलाई नआत्तिकनै धैर्य भएर सम्भव भएसम्म स्थानीय उत्पादन र सबैलाई पुग्ने गरी जो हो गर्न कैलालीका प्रमुख जिल्ला अधिकारी मोहनबहादुर चापागाईले आग्रह गरेका छन् ।
पेट्रोलियम पदार्थको अभाव, प्रशासन कार्यालयद्वारा सवारी साधनका लागि इन्धन कोटा छुट्याइयो
भारतले पेट्रोलियम पदार्थ ढुवानीमा रोक लगाएस“गै सुदूरपश्चिममा पेट्रोलियम पदार्थको अभाव भएको छ । पेट्रोलियम पदार्थको अभावसँगै स्थानीय प्रशासन कार्यालयले हरेक सवारी साधनका लागि इन्धनको कोटा छुट्याएको छ ।

इण्डियन आयल निगमले पेट्रोलियम पदार्थ नदिँदा तीन दिनदेखि यस क्षेत्रमा आपूर्ति भएको छैन् । नेपाल आयल निगम क्षेत्रीय कार्यालय धनगढीका क्षेत्रीय प्रमुख सरद पौडलले इण्डियन आयल निगमले तेल नदिँदा यस क्षेत्रमा अभाव भएको बताए । उनका अनुसार शुक्रबार र शनिबार पेट्रोलियम पदार्थ आपूर्ति भएपनि त्यस यता आपूर्ति हुन सकेको छैन ।
आइतबार धनगढीमा दुई/दुई ट्यांकर डिजेल र पेट्रोल तथा महेन्द्रनगरसहित पहाडी जिल्लामा ५/५ ट्यांकर डिजेल र पेट्रोल पठाइएको प्रमुख पौडेलले बताए । ‘पेट्रोलीय पदार्थको अभाव सँगै पेट्रोल पम्पमा तेल भर्नेहरुको ठूलै लाम लाग्ने गरेको छ । माग बमोजिम तेल आपूर्ति नहुँदा यस क्षेत्रको अवस्था नाजुक छ,’ प्रमुख पौडलले भने, ‘इण्डियन आयल निगमले तेल लिनका लागि गाडी नपठाउन परिपत्र गरेको छ ।’
शुक्रबार र शनिबार भारतबाट पेट्रोलियम पदार्थ बोकेर आएका २२ ओटा ट्याङ्कर आएपनि त्यसयता आएका छैनन् । यहाँ भारतको उत्तरप्रदेशस्थित बन्थरा र साझापुरबाट पेट्रोलियम पदार्थ आयात हुनेगरेको छ ।
सातामा दुई दिन पेट्रोलियम पदार्थका गाडी (कम्तिमा ४० ट्यांकर इन्धन बोकेका गाडी आउने गरेकोमा ) बुधबारयता मुस्किलले १० ओटा ट्यांकर मात्र आएको प्रमुख पौडेलले बताए । यसैगरि जिल्ला प्रशासन कार्यालय कैलालीले सोमबारदेखि पेट्रोल र डिजल वितरणको लागी पेट्रोल पम्पहहरुलाई कोटा प्रणाली लागू गरेको छ ।
कार्यालयका अनुसार जारी कोटा प्रणालीमा प्रति मोटरसाइकल सातामा दुई लिटर, प्राइभेट कार प्रतिदिन १० लिटर, मिनी बस प्रतिदिन २० लिटर र ठूलो बसलाई दूरी अनुसार तथा ट्याक्सी प्रतिदिन १० लिटर, ट्याक्टर प्रतिदिन १५ लिटर मात्र दिन पेट्रोल पम्पहरुलाई पत्राचार गरिएको छ ।
जारी प्रणालीलाई कडाई साथ लागू गरिने प्रशासन कार्यालयले जनाएको छ । यसैगरि ग्यालेन, जर्कीर्न लगायतका भाँडाकुडामा कुनैपनि हालतमा इन्धन वितरण नगर्न भनेको छ भने नेपाल आयल निगम धनगढीसँग मौज्दात इन्धनबाट कोटा प्रणाली माफत् वितरणको ब्यवस्था मिलाइने प्रमुख जिल्ला अधिकारी मोहनबहादुर चापागाईले बताए ।
साथै, उल्लेखित प्रणाली कार्यान्वयन भएको/नभएको बारे अनुगमन गर्न जिल्ला प्रशासन कायार्लयको संयोजकत्वमा वािणज्य, नापतौल, आयल, निगम, पेट्रोलियम डिलर्स, प्रहरी रहेको अनुगमन समिति गठन गरिएको र सो समितिले हरेक दिन अनुगमन गरी प्रशासन कार्यालयमा प्रतिबेदन पेश गर्नुपर्ने ब्यवस्था गरिएको प्रमुख जिल्ला अधिकारी चापागाईले बताए ।
यसैगरि कृषकहरुको हकमा सम्बन्धित कृषि विकास कायार्लयले कृषकको आवश्यकता, प्रयोजन र औचित्य हेरी सिफारिस गरेको आधारमा मात्र इन्धन उपलब्ध गराइने छ प्रमुख जिल्ला अधिकारी चापागाईले भने ।

जोर/बिजोर प्रणाली लागू
नेपाल सरकारले देशभर सवारीसाधनमा जोर/बिजोर प्रणाली लागू गर्ने निर्णय गरेसँगै सुदूरपश्चिममा पनि स्थानीय प्रशासन त्यो प्रणाली लागू गरेको छ ।
बजारमा पेट्रोलियम पदार्थको अभाव हुन थालेपछि प्रशासन कार्यालयले सुदूरपश्चिमको प्रमुख ब्यापारी नाका धनगढी लगायतका क्षेत्रमा आइतबारदेखि सवारी साधनको जोर/बिजोर नम्बर लागुगरेको हो ।

हालै जारी नेपालको संविधान २०७२ बारे भारतीय पक्षले असंन्तुष्टी जनाई अघोषित रुपमा नाकाबन्दी गरेपछि पेट्रोलियम पदार्थको अभाव भएको हो ।
बिद्यमान असहज परिस्थितीलाई थप जटिल हुन नदिन अत्यावश्यकीय सवारीसाधनको रूपमा सुरक्षा निकायका सवारीसाधान, एम्बुलेन्स, दमकल, शबवाहन, तरकारी, फोहोर बोक्ने, दुध बोक्ने, पानी बोक्ने, भाँडा र सार्वजनिक सवारी साधन बाहेकका सवारीसाधनमा जोर÷बिजोर प्रणाली लागू गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
पेट्रोलियम पदार्थको आपूर्तिमा सुधार नभएसम्मका लागि जोर/बिजोर प्रणाली कायम रहने प्रहरीको भनाई छ । प्रणाली अनुसार जोर गते जोर नम्बरका र बिजोर गते बिजोर नम्बरका गाडी मात्र सञ्चालन गर्न पाइने छ ।
प्रहरीले पेट्रोलियम पदार्थको सकभर कम प्रयोग गर्न समेत सर्वसाधारणमा आग्रह गर्दै पेट्रोलियम पदार्थको कालोबजारी र कृत्रिम अभाव नगर्न भनेको छ । कसैले कृत्रिम अभाव सिर्जना गरी कालोबजारी गरेको पाइएमा कडा कारवाही गर्ने कैलालीका प्रमुख जिल्ला अधिकारी मोहनबहादुर चापागाईले बताए ।
- दैनिक नेपाल
काठमाडौं, १२ असोज । नेपालको संविधानमा असन्तुष्टि जनाउँदै भारतले अहिले अघोषित नाकाबन्दी गरिरहेको छ । अघोषित नाकाबन्दीका कारण भारत सरकारको चर्काे अलोचना भइरहेको छ । देशभित्रैबाट समेत भारत सरकारको नेतृत्व सम्हालिरहेका नरेन्द्र मोदीलाई नेपालमा लगाइएको नाकाबन्दी खोल्न चर्काे दबाब परेको छ । विश्वभर र देशभित्रैको चर्काे दबाबका कारण नाकाबन्दी हटाउने मनस्थितीमा मोदी पुगेको दिल्ली स्रोतले जनायो । तर, अझैपनि भारत सरकार नाका खोल्न आनाकानी गरिरहेको छ ।

त्यसको कारण मधेसी मोर्चा । मधेसी मोर्चाका १०/१२ जना कार्यकर्ताको डरले भारतले नाकाबन्दी नखुलाएको स्रोतको दाबी छ । माथि राखिएको फोटोमा मधेसी नेता जेपी गुप्तासहित १०/१२ जना नेता कार्यकर्ता सीमा नाकामा धर्ना दिइरहेका छन् । उनीहरुले महोत्तरीमा सीमा नाकामा अवरोध खडा गरेका छन् । मधेसी मोर्चाका यी १०/१२ नेताको धर्नाको कारण भारतले नाकाबन्दी खोल्न डराएको उसले जारी गरेका व्यक्तव्यमा प्रष्टसँग उल्लेख गरिएको छ । पछिल्लो समय भारतले जारी गरेका वक्तव्यमा मधेसी मोर्चाको अवरोधका कारण सामग्री ढुवानी गर्न नसकिएको र मधेसको समस्या समाधान गरेमात्रै नाकाबन्दी खुल्ने जनाएको छ ।

उसो १०/१२ जनालाई स्थानीय प्रशासनले लखेटेर सहज रुपमा नाकाबाट सामग्री आयात गर्न सक्छ । तर, भारत यिनै १०/१२ जना मधेसी मोर्चाका नेता कार्यकर्तासँग डराएर नाका खोल्न मानेको छैन् । नेपालको संविधानमा असन्तुष्टि जनाएको भारतले मधेसी मोर्चाका १०/१२ नेताको डर मानेरै महोत्तरीका नाका बन्द गरेको हो त ? यो प्रश्न पनि यहाँनेर आउँछ । भारतले नाका खोलिदिए १०/१२ जनालाई तह लगाउन सकिन्छ तर, त्यसो भइरहेको छैन् । यहाँनेर भारतले बहाना बनाएको प्रष्ट देखिन्छ । तर, उसका पछिल्ला वक्तव्यले मधेसी मोर्चाका १०/१२ नेता कार्यकर्तासँग डराएरै नाकाबन्दी खुलाउन नचाहेको देखिन्छ ।

यसो भन्छन् जेपी गुप्ताः तराई मधेस राष्ट्रिय अभियानका संयोजक जय प्रकाश गुप्ता आज दिउसो जलेस्वर–भिठ्ठामोड बोर्डरमा धरनामा बस्नुभयो । उक्त समयमा उहाँले भन्नुभयो- ‘मधेसी जनता बर्षौदेखि आफ्ना मागहरु राख्दै आएको हो । भारतले त पहिलो पटक मधेसीको मागमा सानो सहानुभूति देखाएको हो । मधेसीको मागलाई भारतको माग भनी गलत ब्याख्या गर्नु भन्दा राज्यले मधेसीको माग पुरा गर्नुपर्दछ । त्यसपछि पनि सीमामा नाकाबन्दी भए भारतलाई दोष दिनु ठिक ठहर्छ । मधेसीको मागबाट जनताको ध्यान अन्त लान राज्यले बदनीयत पूर्ण तरिकाले भारतलाई समस्या बताउँदै छ । यसबाट समस्या अझ जटिल बनाएको छ, राज्यले’ गुप्ताले भन्नुभयो । -दैनिकनेपालबाट
'पहाडी शासकले मधेसलाई सधै धोका दिएको आरोप' 
काठमाडौं, १२ असोज । एकीकृत नेकपा माओवादी पार्टी परित्याग गरेका पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले मधेसमा ‘सेफ ल्याण्डिङ’ गरेका छन् । माओवादी पार्टी छोडेपछि बाबुराम पहिलोपटक मंगलबार मधेसको सहर जनकपुर पुगेका हुन् ।

जनकपुर पुगेलगत्तै बाबुरामले मधेसी समुदायलाई उत्तेजित पार्ने अभिव्यक्ति दिएका छन् । सुरुमा आफू आन्दोलनकारी नभई सहजकर्ताका रुपमा मधेस आएको बताएका बाबुरामले पहाडी शासकले मधेसलाई सधै धोका दिएको भनेर उत्तेजित अभिव्यक्ति दिए । जनकपुर विमानस्थलमा ‘सेफ ल्याण्डिङ’ गरेका बाबुरामले भने- ‘म आन्दोलनकारी होइन । मधेसको समस्या समाधानका लागि सहजकर्ताका रुपमा यहाँ आएको हुँ ।’ त्यसलगत्तै उनले पहाडी शासकले मधेसलाई सधै धोका दिएको आरोप लगाए । उनले आफूमाथि पनि अविश्वास भएको बताउँदै पार्टी र संसद्बाट राजीनामा दिएर मधेसी दाजूभाईलाई सहयोग गर्न आएको बताए ।

४५ दिनदेखि मधेसमा भइरहेको आन्दोलनलाई वार्ताबाट समाधान खोज्नुपर्ने बताउँदै उनले मधेसका मुद्दालाई सम्बोधन गर्नका लागि संविधान जारी गर्नुभन्दा पहिले पनि आफूले धेरै पहल गरेको तर, तीनै दलका शीर्ष नेताहरुलाई पटकपटक आग्रह गर्दा पनि कसैले कुरा नसुनेको गुनासो गरे । संविधानमा मतदानअघि नै मधेससँग वार्ता गरेर समाधान खोज्न पार्टी अध्यक्ष प्रचण्डलार्इ अनुरोध गरे पनि नमानेको उनको आरोप छ ।यसअघि मधेसी मोर्चाको विरोधका कारण शुक्रबार जनकपुर जाने बाबुरामको कार्यक्रम स्थगित भएको थियो । दैनिक नेपाल
१२ मंगलवार, काठमाडौं (अन्नपूर्ण): केबल टेलिभिजन सञ्चालकले मंगलबारदेखि भारतीय टेलिभिजन च्यानल प्रसारण बन्द गर्ने भएका छन्।
केबल टेलिभिजन सञ्चालकले मंगलबारदेखि हिन्दी च्यानल बन्द गरेको हो।


संविधान जारी भएपछि भारतले अघोषित रूपमा नाकाबन्दी गरेपछि भारतीय सञ्चारमाध्यमले गलत समाचार प्रसारण गरेको बताउँदै विभिन्न राजनीतिक दल, तिनका भ्रातृ संगठन तथा सर्वसाधारणले भारतीय च्यानल बन्द गर्न दबाब दिएका थिए।

केबल टेलिभिजन महासंघका अध्यक्ष सुधीर पराजुलीका अनुसार मंगलबार दिउँसो १० बजेदेखि भारतीय च्यानल प्रसारण बन्द गरिएको छ।

 यसअघि चितवन, पोखरा र कञ्चनपुरमा हिन्दी च्यानल बन्द भइसकेका छन्।
न्युयोर्क, १२ असोज । अमेरिकी राष्ट्रपति बाराक ओबामाले नेपालमा लोकतान्त्रिक र समावेशी संविधान जारी भएकोमा नेपाल र नेपाली जनतालाई बधाई एवम् शुभकामना दिनुभएको छ ।

राष्ट्रसङ्घको ७०औँ महासभा भाग लिन आउनुभएका राष्ट्र एवम् सरकार प्रमुखहरुको सम्मानमा राष्ट्रपति ओबामाले सोमबार आयोजना गर्नुभएको रात्रिभोजका अवसरमा नेपाली प्रतिनिधि मण्डलका नेता एवम् उपप्रधानमन्त्री प्रकाशमान सिंहलाई नेपालमा लोकतान्त्रिक समावेशी संविधान जारी भएकोमा बधाई तथा शुभकामना दिनुभएको हो ।

उपप्रधानमन्त्री सिंहले राजनीतिक दलहरुको सहमतिमा संविधानसभाबाट सङ्घीय लोकतान्त्रिक गणतान्त्रिक नेपालको संविधान जारी भएको र दलहरुको सहमतिमा यसको कार्यान्वयन गरिने बताउनुभएको थियो ।




यसैगरी राष्ट्रपति ओबामाले राष्ट्रसङ्घका महासचिव वानकी मुनले आयोजना गर्नुभएको विश्वका नेताहरु सम्मिलित शान्ति सम्मेलनका अवसरमा पनि उपप्रधानमन्त्री सिंहलाई नेपालमा संविधानसभाबाट संविधान जारी भएकोमा राम्रो काम भएको भन्दै खुसी प्रकट गर्नुभएको थियो । रासस
dainiknepal
 
जीवन मंत्र
बिचित्र संसार
स्वास्थ्य
Latest Updates
English Headlines