काठमाडौं, २९ भदौ । नयाँ संविधानको विधेयकमाथिको संशोधन प्रस्तावमा आइतबारदेखि सुरु भएको मतदान प्रक्रियाको तेस्रो दिन मंगलबार संविधानसभा बैठकमा प्रमुख प्रतिपक्षी दल एकीकृत नेकपा माओवादीले सबैलाई आश्चर्यचकित पारेको छ ।

धारा ६१ मा राष्ट्रपति सम्बन्धि व्यवस्थाको मतदान प्रक्रियामा राप्रपा नेपालका अध्यक्ष कमल थापाले राजसंस्था नै हुनुपर्ने भन्दै हालेको संशोधन प्रस्तावमा एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता बाबुराम भट्टराईले एकछिन झुक्किएर समर्थन जनाए ।
धारा ६१ मा ‘नेपालमा एक जना राष्ट्रपति रहने छन्’ भनिएको छ । तर, राप्रपा नेपालले सो धारामा राष्ट्रपतिको सट्टामा राजसंस्था नै हुनुपर्ने माग गर्दै संसोधन प्रस्ताव दर्ता गराएको थियो ।

राप्रपा नेपालको सो प्रस्तावमा एमाओवादी नेताद्धय प्रचण्ड र बाबुरामसहितका सभासदले झुक्किएर राजसंस्थाका पक्षमा हात उठाएर ‘हुन्छ’ भनेपछि एकछिन सभाहलमै हाँसो फैलियो । प्रचण्ड-बाबुरामले नै राजा चाहियो भनेपछि सभामुख सुवास नेम्वाङ समेत अलमलमा परेका थिए ।
तर, उनीहरुले तुरुन्तै आफूहरुलाई सच्चाउदै ‘हुदैन’ भन्दै प्रस्तावको विपक्षमा हात उठाएर मतदान गरे । त्यसपछि कमल थापाको राजा ल्याउने प्रस्तावलाई बहुमतले अस्वीकार गरिएको थियो ।
यसरी झुक्किनेमा एमाओवादीका अध्यक्ष प्रचण्ड, नेताहरु डा. बाबुराम भट्टराई, टोपबहादुर रायमाझी, कृष्णबहादुर महरा, गिरीराजमणी पोखरेल, शक्ति बस्नेतसहित सभासदहरु थिए ।
-दैनिक नेपाल

'रोग योगमा आएको संविधानले अशान्ति मच्चाउने'
२९ भदौ, काठमाडौ । नयाँ संविधान असोज ३ गते बेलुका ५ बजे घोषणा हुने सुनेपछि नेपालका ज्योतिषीहरु उक्त दिन शुभ छ कि अशुभ भनेर आर्जे हेर्नतिर लागेका छन् । कतिपय ज्योतिषीका अनुसार संविधान जारी हुने दिन शुभ छैन ।

ज्योतिष पण्डित घनानन्द शर्मा घिमिरेका अनुसार अहिले नेपाल भन्ने देशको राशी बृश्चिक हो । शास्त्रीय कुरालाई मान्ने हो भने बृश्चिक राशीलाई यतिबेला साढे सातको दशा छ । मुलुकलाई साढे सातको दशा लागेका बेला सिंगै मुलुक अशान्त हुन्छ । सबैतिर हाहाकार कोलाहाल मात्रै हुन्छ । राम्रै काम गर्न खोज्दा पनि नराम्रो परिणाम आउँछ । अहिले लगभग त्यस्तै स्थिति छ ।

घिमिरेका अनुसार ३ गते दिउँसो ४ बजेसम्म शुभ छ । यदि साढे ४ बजे भन्दा अगाडि नै संविधान जारी गर्ने हो भने देशका लागि राम्रो हुन्छ । घिमिरे भन्छन्- ‘शुभ समयमा गरेको कामको परिणाम पनि शुभ नै हुन्छ ।’
तर, संविधान जारी हुने समय बेलुका ५ बजेलाई छुट्याइएको छ । घिमिरेका अनुसार ५ बजे ‘रोग योग’ परेको छ । रोग योगमा गरेको कुनै पनि कामले राम्रो परिणाम दिँदैन । ‘यस्तो समयमा नयाँ काम नगर्नु नै राम्रो मानिन्छ’ घिमिरे भन्छन्- ‘अर्को कुरा पाँच बजे कुम्भ लग्न र शनिश्चर योग परेको छ, यस्तो बेलामा प्रायः अशान्ति हुन सक्छ ।’
-अनलाइन खबर
 
जीवन मंत्र
बिचित्र संसार
स्वास्थ्य
Latest Updates
English Headlines