सुदूरपश्चिममा पनि भारतको नाकाबन्दी
Tweet
धनगढी, १२ असोज । भारतको अघोषित नाकाबन्दी सँगै सुदूरपश्चिमका प्रमुख त्रिनगर र गड्चौकी भन्सार नाका सुनसान छन् ।
भारतीय बजारबाट दिनहुँ दर्जनौंको संख्यामा आउने मालबाहक गाडीलाई भारतको गौरीफन्टा र बनमासामा भारतीय सुरक्षाकर्मी तथा कष्टमले विभिन्न बहानामा बनाई रोक्ने गरेपछि भन्सारनाका सुनसान भएका हुन् ।
सुदूरपश्चिमको मुख्य नाका धनगढीस्थित त्रिनगर भन्सार र महेन्द्रनगरस्थित गड्चौकी नाकाको भारततिर तीन दिनदेखि ठूलो संख्यामा नेपाल आउने मालबाहक गाडीहरु अलपत्र अवस्थामा परेको कैलाली भन्सार कार्यालयले जनाएको छ ।
यसअघि निर्बाधरुपमा मालबाहक गाडीहरु आउने गरेकोमा शुक्रबार साँझदेखि नाकाबन्दी लगाएको भन्सार अधिकारीहरूको भनाई छ । नेपालतिर आउने मालबाहक गाडीहरुलाई भारतीय सीमा सुरक्षा बल (एसएसबी) र कष्टम कागजात नमिलेको तथा चेकजाँचमा ढिलाई गरी रोक्ने गरेको सवारी चालकहरुले बताए ।
यसअघि एउटा मालबाहक गाडीलाई भन्सार छुटाउन बढीमा एक घण्टासम्म लाग्नेगरेकोमा हाल चौबिस घण्टा बित्दा पनि भन्सार पास नदिने गरेको चालकहरुको भनाई छ ।
भारतबाट सामग्री लोड गरेर आएका दर्जनौं गाडीहरू भारतको दुधुवा नेशनल पार्कको बनगाउँ क्षेत्रमा रोकिएका छन् । भारतको अघोषित नाकाबन्दी सँगै बजारमा दैनिक उपभोग्य सामानको अभाव देखिन थालेको छ । उपभोक्ताहरुले आफूलाई आवश्यक पर्ने सामाग्री खरिद गरी भण्डारण गर्न थालेका छन् ।
भारतीय पक्षले नेपाल आयात हुने गाडीलाई पूर्णरुपमा अवरोध नपुर्याएपनि चेकजाच र कागजात नपुगेको भन्दै घण्टौंसम्म भन्सारमा रोक्ने गरेको कैलालीका भन्सार कार्यालयका भन्सार अधिकृत मानबहादुर विकले बताए ।
भन्सार अधिकृत बिकका अनुसार भारतबाट नेपाल भित्रिन लागेका दजनौं मालावाहक गाडी सीमा नाकामा रोकेको छ । ‘२४ घण्टादेखि कुनै गाडी आएका छैनन्,’ बिकले भने–‘भारतीय कष्टम र एसएसबीले प्रक्रिया पुर्याउनु पर्ने नाममा सीमा क्षेत्रमा रोकेको छ ।’
त्रिनगर भन्सार नाकाबाट पेट्रोलियम पदार्थका साथै हार्डवयर, खाद्यान्न, सिमेण्ट, कृषि सामाग्री, तरकारी हुने गर्छ भने गड्चौकी नाकाबाट हार्डवयर, खाद्यान्न, सिमेण्ट कृषि सामाग्री, तरकारी हुनेगर्छ ।
‘नाकाबन्दीले त्रिनगर भन्सार नाकामा मात्र दैनिक १५ लाख बढी राजस्वमा घाटा भइरहेको छ,’ भन्सार अधिकृत विकले भने, ‘यो सिजनमा बढी राजस्व संकलन हुने भएपनि नाकाबन्दी लक्ष्य भेटाउन सक्ने अवस्था छैन् ।’
भारतबाट आयात हुने नेपालका सबै नाकामा नाकाबन्दी छ । यसको असर कैलालीमा पनि परेको छ । उपभोक्ताहरुलाई नआत्तिकनै धैर्य भएर सम्भव भएसम्म स्थानीय उत्पादन र सबैलाई पुग्ने गरी जो हो गर्न कैलालीका प्रमुख जिल्ला अधिकारी मोहनबहादुर चापागाईले आग्रह गरेका छन् ।
पेट्रोलियम पदार्थको अभाव, प्रशासन कार्यालयद्वारा सवारी साधनका लागि इन्धन कोटा छुट्याइयो
भारतले पेट्रोलियम पदार्थ ढुवानीमा रोक लगाएस“गै सुदूरपश्चिममा पेट्रोलियम पदार्थको अभाव भएको छ । पेट्रोलियम पदार्थको अभावसँगै स्थानीय प्रशासन कार्यालयले हरेक सवारी साधनका लागि इन्धनको कोटा छुट्याएको छ ।
इण्डियन आयल निगमले पेट्रोलियम पदार्थ नदिँदा तीन दिनदेखि यस क्षेत्रमा आपूर्ति भएको छैन् । नेपाल आयल निगम क्षेत्रीय कार्यालय धनगढीका क्षेत्रीय प्रमुख सरद पौडलले इण्डियन आयल निगमले तेल नदिँदा यस क्षेत्रमा अभाव भएको बताए । उनका अनुसार शुक्रबार र शनिबार पेट्रोलियम पदार्थ आपूर्ति भएपनि त्यस यता आपूर्ति हुन सकेको छैन ।
आइतबार धनगढीमा दुई/दुई ट्यांकर डिजेल र पेट्रोल तथा महेन्द्रनगरसहित पहाडी जिल्लामा ५/५ ट्यांकर डिजेल र पेट्रोल पठाइएको प्रमुख पौडेलले बताए । ‘पेट्रोलीय पदार्थको अभाव सँगै पेट्रोल पम्पमा तेल भर्नेहरुको ठूलै लाम लाग्ने गरेको छ । माग बमोजिम तेल आपूर्ति नहुँदा यस क्षेत्रको अवस्था नाजुक छ,’ प्रमुख पौडलले भने, ‘इण्डियन आयल निगमले तेल लिनका लागि गाडी नपठाउन परिपत्र गरेको छ ।’
शुक्रबार र शनिबार भारतबाट पेट्रोलियम पदार्थ बोकेर आएका २२ ओटा ट्याङ्कर आएपनि त्यसयता आएका छैनन् । यहाँ भारतको उत्तरप्रदेशस्थित बन्थरा र साझापुरबाट पेट्रोलियम पदार्थ आयात हुनेगरेको छ ।
सातामा दुई दिन पेट्रोलियम पदार्थका गाडी (कम्तिमा ४० ट्यांकर इन्धन बोकेका गाडी आउने गरेकोमा ) बुधबारयता मुस्किलले १० ओटा ट्यांकर मात्र आएको प्रमुख पौडेलले बताए । यसैगरि जिल्ला प्रशासन कार्यालय कैलालीले सोमबारदेखि पेट्रोल र डिजल वितरणको लागी पेट्रोल पम्पहहरुलाई कोटा प्रणाली लागू गरेको छ ।
कार्यालयका अनुसार जारी कोटा प्रणालीमा प्रति मोटरसाइकल सातामा दुई लिटर, प्राइभेट कार प्रतिदिन १० लिटर, मिनी बस प्रतिदिन २० लिटर र ठूलो बसलाई दूरी अनुसार तथा ट्याक्सी प्रतिदिन १० लिटर, ट्याक्टर प्रतिदिन १५ लिटर मात्र दिन पेट्रोल पम्पहरुलाई पत्राचार गरिएको छ ।
जारी प्रणालीलाई कडाई साथ लागू गरिने प्रशासन कार्यालयले जनाएको छ । यसैगरि ग्यालेन, जर्कीर्न लगायतका भाँडाकुडामा कुनैपनि हालतमा इन्धन वितरण नगर्न भनेको छ भने नेपाल आयल निगम धनगढीसँग मौज्दात इन्धनबाट कोटा प्रणाली माफत् वितरणको ब्यवस्था मिलाइने प्रमुख जिल्ला अधिकारी मोहनबहादुर चापागाईले बताए ।
साथै, उल्लेखित प्रणाली कार्यान्वयन भएको/नभएको बारे अनुगमन गर्न जिल्ला प्रशासन कायार्लयको संयोजकत्वमा वािणज्य, नापतौल, आयल, निगम, पेट्रोलियम डिलर्स, प्रहरी रहेको अनुगमन समिति गठन गरिएको र सो समितिले हरेक दिन अनुगमन गरी प्रशासन कार्यालयमा प्रतिबेदन पेश गर्नुपर्ने ब्यवस्था गरिएको प्रमुख जिल्ला अधिकारी चापागाईले बताए ।
यसैगरि कृषकहरुको हकमा सम्बन्धित कृषि विकास कायार्लयले कृषकको आवश्यकता, प्रयोजन र औचित्य हेरी सिफारिस गरेको आधारमा मात्र इन्धन उपलब्ध गराइने छ प्रमुख जिल्ला अधिकारी चापागाईले भने ।
जोर/बिजोर प्रणाली लागू
नेपाल सरकारले देशभर सवारीसाधनमा जोर/बिजोर प्रणाली लागू गर्ने निर्णय गरेसँगै सुदूरपश्चिममा पनि स्थानीय प्रशासन त्यो प्रणाली लागू गरेको छ ।
बजारमा पेट्रोलियम पदार्थको अभाव हुन थालेपछि प्रशासन कार्यालयले सुदूरपश्चिमको प्रमुख ब्यापारी नाका धनगढी लगायतका क्षेत्रमा आइतबारदेखि सवारी साधनको जोर/बिजोर नम्बर लागुगरेको हो ।
हालै जारी नेपालको संविधान २०७२ बारे भारतीय पक्षले असंन्तुष्टी जनाई अघोषित रुपमा नाकाबन्दी गरेपछि पेट्रोलियम पदार्थको अभाव भएको हो ।
बिद्यमान असहज परिस्थितीलाई थप जटिल हुन नदिन अत्यावश्यकीय सवारीसाधनको रूपमा सुरक्षा निकायका सवारीसाधान, एम्बुलेन्स, दमकल, शबवाहन, तरकारी, फोहोर बोक्ने, दुध बोक्ने, पानी बोक्ने, भाँडा र सार्वजनिक सवारी साधन बाहेकका सवारीसाधनमा जोर÷बिजोर प्रणाली लागू गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
पेट्रोलियम पदार्थको आपूर्तिमा सुधार नभएसम्मका लागि जोर/बिजोर प्रणाली कायम रहने प्रहरीको भनाई छ । प्रणाली अनुसार जोर गते जोर नम्बरका र बिजोर गते बिजोर नम्बरका गाडी मात्र सञ्चालन गर्न पाइने छ ।
प्रहरीले पेट्रोलियम पदार्थको सकभर कम प्रयोग गर्न समेत सर्वसाधारणमा आग्रह गर्दै पेट्रोलियम पदार्थको कालोबजारी र कृत्रिम अभाव नगर्न भनेको छ । कसैले कृत्रिम अभाव सिर्जना गरी कालोबजारी गरेको पाइएमा कडा कारवाही गर्ने कैलालीका प्रमुख जिल्ला अधिकारी मोहनबहादुर चापागाईले बताए ।
- दैनिक नेपाल

